फिपराज बेघा
बेलबारी । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले देशको न्याय प्रणालीलाई शुद्ध बनाउने अभियानमा लागिरहेको बताएका छन्ं । जग्गाको केही समस्याले क्लिक गरेको बताउँदै उनले राज्यका जमिनहरु कब्जा गर्नका लागि विचौलिया, जग्गा दलालीहरु लागिपरेका दाबी गरेका छन् । ‘विचौलिया, जग्गा दलालीहरु मुद्धा हाल्दा राज्यले हारिरहनुपर्ने बेथिति छ ।’ उनले भने ‘यसलाई उल्टाएर राज्यले राज्यको सम्पत्ति संरक्षकत्व प्राप्त गर्ने गरी नै न्याय प्रणालीलाई व्यवस्थित गर्ने छौं ।’
बेलबारी १० मा भएको अन्तर्रा्ष्ट्रिय मूर्तीकला कार्यशाला समापन कार्यक्रममा मन्त्री ढकालले सो कुरा बताएका हुन् । कार्यशालालाई सहयोग गर्नका लागि मन्त्रीमण्डलमा छलफल गर्न नपाएकाले अभियानलाई सहयोग गर्ने आश्वासन दिदै नवीनतम पार्क बनाउन आग्रह गरेका छन् । अफ्ठारामा तीनै तहको सरकार साथमा रहने बताउँदै उनले भने, ‘ सिर्जना पार्क जन्मियो, जन्मिनु मात्र ठूलो कुरो होइन । यसको समृद्धि र पूर्णता पाउनका लागि पार्क अभिभावकबिहीन नहोस् । प्रारम्भीकरुपमा काम प्रारम्भ भएको छ । अब यसलाई कसरी व्यवस्थित गर्ने ? आकर्षणको केन्द्र कसरी समृद्ध बनाउने ? जागरुप भएर लाग्नुपर्छ ।’
दलीय स्वार्थ भन्दा माथि उठेर नै समृद्धि नेपाल, सुखी नेपाली बनाउने अभियान पूरा गर्ने अभियानमा लाग्न आग्रह गरेका छन् । उनी दोस्रो पटक कार्यशाला आएका हुन् । उक्त अवसरमा कार्यशाला सहभागी जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामालगायत ३० मुर्तिकारहरुलाई सम्मान गरिएको थियो । १८ दिन लगाएर कलाकारहरुले कार्यशालामा ३० भन्दा बढी मुर्ति बनाएका थिए ।
मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा अन्तर्रा्ष्ट्रिय मूर्तीकला कार्यशाला गत फागुन ४ गतेदेखि सुरु भएको थियो । कार्यशाला धनु आर्ट स्टुडियोले आयोजना गरेको थियो । करिब १ करोड ८४ लाखको लागतमा कार्यशाला भएको थियो । बेलबारी नगरपालिका र सिर्जना सामुदायिक वन कार्यालय पनि आयोजकमा छन् भने बुद्ध एअर, नोबेल अस्पताल, गोर्खा डिपार्टमेन्ट स्टोर, चिसाङ क्रसरलगायतले कार्यशालालाई सहयोग गरेको थियो ।