साइनो समाचारदाता
पथरी । आन्तरिक र वाह्य पर्यटकहरुलाई लक्षित गरेर कृषा इन्भेष्टमेन्टले टाइटानिक फनपार्क एण्ड रिसोर्ट बनाउने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी मोरङको पथरी शनिश्चरे–१० जिरिखिम्ती मोरङमा रिसोर्ट १ वर्षभित्रमा सञ्चालन गर्ने सञ्चालक जितेन कार्कीले बताएका छन् । दुई विगाहा जग्गामा बन्ने रिसोर्टमा हालसम्म ३ करोड रुपियाँ लगानी भइसकेको छ । तीन ठाउँ पानीको मुहान रहेकाले १५ कट्ठा जग्गामा पोखरी निर्माण गरी टाइटनिक शैलीको ‘वोट’, २ सय जनाको सभा हललगायतको संरचना बनाइने, यसका अतिरिक्त रिसोर्टमा सौन्दर्य भर्न प्राविधिकहरूको सल्लाह बमोजिम डीपीआर बनाइने सञ्चालक कार्कीले जनाए । उनले फनपार्कको ५० प्रतिशत सेयर वितरण गर्ने बताए । पछिल्लो समय पर्यटक आकर्षित गर्न जिल्लाका विभिन्न ठाउँमा फनपार्क र रिसोर्टमा लगानी हुने क्रम बढेको छ । पत्रकार सम्मेलन अघि फनपार्कको सिलन्यास गरिएको थियो ।
कार्की दुई कार्यकाल पथरी उद्योग वाणिज्य संघको महासचिवको भूमिका निर्वाह गरिसकेका छन् ।