साइनो समाचारदाता/कांकरभिट्टा, ३२ जेष्ठ,
ट्राफिक प्रहरी पोष्ट कांकरभिट्टाको भारतीय सवारी साधनसंग अबैध रकम असुल्ने कार्य अझै रोकिन सकेको छैन । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड भएर आउने गर्छन । ट्राफिक प्रहरी पोष्टले त्यस्ता सवारीसंग रकम असुल्दै आएको हो ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर ट्राफिक प्रहरी पोष्ट कांकरभिट्टाका (इन्चार्ज)प्रहरी नायव निरीक्षक मनमोहन पौडेलको निर्देशनमा जाँचमा खटिएका ट्राफिक प्रहरीले भारतीय ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।
क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्ने भए पनि पौडेलले अनधिकृत रकम लिएर छाड्ने गरेका छन् । मेची भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर २ सय देखि १ हजार बढी सम्म रकम असुल्ने गरेका छन् । त्यती मात्र नभई पैसा नदिए बिभिन्न बाहनामा ट्राफिक प्रहरीले दुख दिने गरेको एक चालकले नाम नखोल्ने सर्तमा बताए ।
त्यती मात्र होइन राजमार्गमा चल्ने बिभिन्न कम्पनीका बस, सिटी रिक्सा, भारतीय सिटी रिक्सा, भारतीय नम्बरका मोटरसाइकल तथा गाडि संग पनि उनले अबैध असुली गर्दै आएका छन् । ट्राफिक पोष्ट कांकरभिट्टाका इन्चार्ज पौडेलले गर्ने गरेको असुली धन्दाका बिषयमा झापा ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपाने जानकार छन् । उनै न्यौपानेको संरक्षण उनले असुली गर्दै आएको प्रहरी स्रोतको भनाई छ । कांकरभिट्टा पोष्टबाट जिल्ला प्रमुख न्यौपानेले समेत मासीक रकम लिने गरेको कारण उनलाई कारवाही हुन नसकेको स्रोतले जनाएको छ ।