साइनो समाचारदाता
विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को लागि प्रदेश नं १ सरकार जुटेको छ। सरकारले पर्यटन सद्भावना दूतमा दीपाश्री निरौला, हिमाल आरोही कामरिता शेर्पा, अल्ट्रा धाविका मिरा राईसहितलाई नियुक्त समेत गरेको गरिसकेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै प्रदेश सरकारले उक्त कार्यक्रम उद्घाटन तथा अन्य कार्यक्रमबारे जानकारी दिएको हो । मन्त्रालयका सचिव सञ्जीवकुमार राईले प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको विकास गर्न दीर्घकालीन योजना बनाउने तयारी गरिएको बताए । उनले पर्यटकीय गन्तव्यमा पुग्ने सडक, पदमार्ग लगायत पूर्वाधार निर्माणका लागि प्रदेश १ सरकारले १ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको बताए । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्राउने उद्देश्यको साथ तयारी थालिएको बताए । मुख्यमन्त्री संरक्षक, पर्यटनमन्त्री संयोजक र पर्यटन व्यवसायी राजन श्रेष्ठ सहसंयोजक रहेको पर्यटन प्रवद्र्धन समिति तथा १२ ओटा उपसमिति गठन गरिएको हो । नेपाल सरकारले घोषणा गरेका सय गन्तव्यहरूमा प्रदेश १ मा रहेका १६ गन्तव्यको प्रचारप्रसार गरिने मन्त्रालयले बताएको छ ।
पुस १६ गते अर्थात् जनवरी १ तारिखका दिन विराटनगरको शहीद मैदानमा भ्रमण वर्षका कार्यक्रमको भव्य रूपमा उद्घाटन गरिने मन्त्रालयले बताएको छ । उद्घाटनमा प्रदेश १ का विभिन्न जातजातिका झाँकी र नमूना पर्यटन गीत प्रस्तुत गरिनुका साथै सुरक्षा निकाय, विद्यार्थी लगायतले मार्चपास गर्ने प्रदेश १ पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले जानकारी दिए । प्रदेशका १ सय ३७ ओटा स्थानीय तहसँग समन्वय गर्दै १० हजार प्रदेशवासीको उपस्थितिमा भ्रमण वर्ष लक्षित कार्यक्रमको उद्घाटन गरिने उनले बताए ।