पथरी, २७ भाद्र/ प्रथम पथरी शनिश्चरे गोल्डकप सोज ५ देखि १२ सम्म आयोजना हुने तय छ। प्रतियोगिताका लागि मैदान र प्याराफिटको तयारी पुरा भएको छ । प्रतियोगितामा एक भारतीय क्लब ‘ए’ डिभिजनका क्लब र विभागिय टोली सहित आठ टिमको सहभागिता रहने भएको छ ।
पथरी ११ फुटबल क्लबले आयोजना गर्ने गोल्डकप पथरी शनिश्चरे स्थित पथरी रंगशालामा हुने छ । मैदान मर्मतको काम पनि ९५ प्रतिसत सकिएको छ। करिब तीन हजार दर्शक अटाउने गरी प्याराफिट निर्माण थालिएको खेल संयोजक जितेन राईले जानकारी दिएका छन । राईकाअनुसार आयोजक पथरी ११, सिराहको सहलेस युथ क्लब, झापा ११ फुटबल क्लब, पाँचथर फुटबल क्लब, भारतको युके एफसी क्लबले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भइसकेको छ। प्रतियोगितामा एक ‘ए’ डिभिजन क्लव र एक विभागीय क्लबले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले बताएको छ ।
फुटवलको माध्यमबाट पथरी शनिश्चरेलाई विश्व माझ चिनाउने उदेश्यले प्रतियोगिता गर्न लागेको आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए । प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१ को विजेताले ट्रफी सहित तीन लाख पाउने छन् भने उपविजेताले दुई लाख रुपैयाँमा चित्त बुझाउनेछन् । प्रतियोगिताको पहिलो पुरस्कार सिजल एण्ड सिस्टर एल एल सी यु एस एले प्रायोजक गर्ने भएको क्लबका अध्यक्ष विकले जानकारी दिए । प्रतियोगितामा सात उत्कृष्ट विधामा खेलाडीलाई नगद पुरस्कार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।
नगरकै गौरवको खेल प्रतियोगिता आउन नौ दिन बाकी रहदा समेत नगरले के कती सहयोग गर्ने भन्ने खुलेको छैन । पहिलो र दोस्रो संस्करणको पथरी गोल्ड कप पछि बन्द रहेको ठुला फुटवल प्रतियोगितामा यस गोल्ड कपले खेलाडीमा केहि आशा जगाएको छ । २०७१ मंसिर १४ मा दोस्रो संस्करणको पथरी गोल्ड कप सङ्गपन्न भएको थियो । खेलाडीको पहिचान गर्ने उदेश्यले पथरी शनिश्चरे प्रिमियर लिग कमिटीले प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रीमियर लिग र दोस्रो ईन्ट्रा पथरी-शनिस्चरे फुटबल प्रीमियर लिग सम्पन्न गरेको थियो ।
दुई सस्करण सफल भएको प्रतियोगिताले पछिल्लो हिसाव सावर्जनीक गर्न नसक्दा तेस्रो संस्करण गर्न सकेका छैन्न । सोहि हिसाव सार्वजनीक हुन नसकेका कारण असोज ५ बाट हुन गैरहेको प्रतियोगितालाई समेत असर परेको खेलप्रेमी युवाहरु बताउछन । पथरी शनिश्चरेलाई चिनाउने खेलकुद प्रतियोगिताहरु बन्द रहेको अवस्थामा पथरी शनिश्चरेमा गोल्ड कपले खेल प्रेमीहरुमा उत्साहा जागेको छ । पथरी शनिश्चरे नगर खेलकुदमा पुर्व राष्टिय खेलाडी दिपक राई आए संगै खेलकुद प्रतियोगिताले आशा बटुलेको छ । नगरले २०८० देखि पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० संचालन सुरु गरेको छ ।