√प्रेम निङ्लेकू
पृष्ठभूमि :
लिम्वु समुदायसँग लुङको सम्वन्ध बडो चाखलाग्दो छ । लुङको नेपाली अर्थ ढुंगा हुन्छ । तर लुङको अर्थ तेतिले मात्र समेटिदैन । जस्तो बैठक भेला बस्नुलाई लिम्बुहरू चुम्लुङ भन्छन् । चुलोलाई लिम्बु भाषामा हात्लुङ भनिन्छ । तङसिङ तक्मा अनुष्ठानमा यहीँ हात्लुङबाट यात्रा सुरु भएर चो?लुङ पुगी पुन: फर्केर घर आइ पुगिन्छ । चो?लुङ भनेको काम, क्रोध, लोभ र मोहबाट मुक्त हुन सिद्धी शक्ती प्राप्त हुने स्थल हो । शिशु जन्मेपछी साल काट्दा ढ्याक पैसाको अचानो बनाइन्छ । त्यहीँ पैसा न्वारान(याङदाङ फोङमा) गर्दा प्रयोग गरिन्छ । पछि विवाहको लगनमा बेहुलाले बेहुलीलाई बैना बाँधिदिँदा त्यहीँ पैसा प्रयोग गर्नुपर्ने विश्वास लिम्बु समुदायमा रहीँ आएको छ । त्यो अवसरमा उक्त ढ्याक पैसालाई युप्पालुङ नामले चिनिन्छ । युप्पालुङ दुई अलग जीवन एकाकार भएको साक्षी हो । यदि आफ्नो पतिले खाना लाउन दिएन, हेला गर्याे भने पत्नीले सोही युप्पालुङ फिर्ता गरेर गएमा सम्बन्ध विच्छेदको मान्यता पाउने विश्वास लिम्बु समुदायमा रहेको छ । मरेपछि बनाइने चिहानमाथि एउटा ढुंगा ठाडो गाड्ने चलन छ । यसलाई लिम्बुहरू सुत्लुङ भन्छन् । सुत्लुङ नाभिको सिधा माथि पर्ने गरी गाडिएको हुन्छ । तेहि ढुंगाको आधारमा पछी कस्को चिहान हो भनेर छुट्याउने चलन छ । अहिले यसमा सम्बन्धित मृतकको नाम ठेगाना जन्म र मृत्यु लेख्ने गरिन्छ । जे होस मृतकको चिहान छुट्याउन सुत्लुङको प्रयोग लिम्बु समुदायमा रहेको छ ।
लिम्बुहरूको सघन वस्ती भएको कतिपय ठाउँको नाममा पनि लुङ जोडिन्छ । जस्तै म्याङलुङ, खाम्लालुङ, थोक्लुङ, खाम्लुङ, फालेलुङ, ताजेलुङ, ताक्लुङ, मिदुपलुङ, सुम्हात्लुङ आदि । यति मात्र हैन हिमालहरूको नाममा पनि लुङ नै जोडिएको छ । चमजम लुङ(सगरमाथा), मकालुङ(मकालु ), फक्ताङलुङ(कुम्भकर्ण), कङकलुङ(कन्चन जंगा), चेन्जेन लुङ, केवालुङ आदि । यसरी लुङसँग लिम्बु समुदायको सम्बन्धबारे खोजी गर्ने अलग विषय बन्न सक्छ । यहाँ भने मयङलुङ देवीको विषयमा मात्र जानकारी तयार गरिने छ । लिम्बु समुदायको विश्वास के छ भने लुङ अथवा ढुंगामा पनि इश्वरीय उर्जाको वास हुन्छ । यसै कारण हाल पाथिभरा देवी भनि चिनिने ताप्लेजुङको देवीलाई लिम्बु भाषामा मुक्कुम लुङमा भन्छन् ।
तस्वीर स्राेत : यसाेदा चेम्जोङ, उपाध्यक्ष, नेपाल पत्रकार महासङ्घ तेह्रथुम ।
भौगोलिक अवस्थिति :
मयङलुङ देवी तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिकामा अवस्थित छ । तेह्रथुम जिल्लाको सदरमुकम म्याङलुङ वजार भित्रै पर्ने मयङलुङ देवीलाई सिंहवाहिनी भगवती भनेर पनि पुकार्न थालिएको छ । यो समुन्द्री सतहदेखि करिब १७०० मिटर उचाइमा रहेको छ । मयङलुङ देविथान अहिले निजी घरले लगभग घेरिन लागेको छ । ठूलो वरको मुनी मयङलुङ देवीको थान रहेको छ । मयङलुङ देवीसँग प्रत्यक्ष जोडिने अर्को वागकोरे ढुंगा करिव १ किमि टाढा अवस्थित छ । मयङलुङ देवी छेउको डाँडाबाट छथर, फेदाप, मेन्छ्यायेम डाँडा, तीनजुरे डाडा, सोल्माको तिल्लिङटार र पाँचथर जिल्लाको केही भू-भाग अवलोकन समेत गर्न सकिन्छ ।
मयङलुङ देवीको उत्पति :
क). मयङलुङ देवीको उत्पत्ती कहिले भयो यकिन तिथि मिति फेला परेको छैन । यद्यपि यसको उत्पति खोरिया फाँड्दा भएको हो । खोरिया फाँड्ने व्यक्तिहरूमा भने तुम्फङलाबाट हालको म्याङलुङमा आइ जग्गा आवाद गुल्जार गरिबस्ने चोधरे र उहाँका छोराहरू नोन्छाङहाङहरू नै थिए । उनीहरू एकदिन खोरिया फाँड्ने हतियारसहित हालको नागदह क्षेत्रमा पुगे । खोरिया फाड्दै जाँदा एक जना बज्यूले अचानक एउटा बिरालो देखिन् । त्यो बिरालो म्याउँ म्याउँ गर्दै उनै बजूको अगाडि पछाडि कुदि रह्यो । यसरी कुदी हिँड्दा अन्जानमा बजूको खुर्पाले बिरालोलाई लाग्छ । त्यसलगत्तै बिरालो ढुंगामा परिणत भयो र ढुंगाबाट रगत बग्यो । रतग बगेको दृश्य देखेर यस्तो के अनौठो भयो भनी आत्तिदै बज्यूले आफ्नो पतिलाई तुरुन्तै बाेलाइन् । खोरिया फाँड्न जाने सबै भेला भए । ढुंगाबाट रगत बगेको देखेर सबै आश्चर्यमा परे र साक्षात् देवीको उत्पति भएको निचोड निकाले । त्यसपछि त्यो शिलालाई चौतारा बनाएर हालको नागदह पोखरी छेउमा देवीको थान स्थापित गरे ।
ख). सुब्बा मन्जित बहादुर, कृष्णबहादुर र सलबहादुरका भनाइ अनुसार सुब्बा भगिमान सिं र उहाँकी पत्नी हाङमासुतमा खोरिया फाँड्न भनी हालको नागदह भन्ने ठाउँमा पुगेका थिए । खेतालाहरूसँगै खोरिया फाँड्दै गर्दा सुब्बेनीले आफ्नो नजिकै वरिपरि बिरालो कराएको आवाज सुनिन् । पोथ्रा पोथ्रीहरू फाँड्दै जाँदा उनले चलाएको हतियारले अचानक एउटा ढुंगामा लाग्यो । उक्त ढुंगाबाट रगत बग्न सुरु गर्याे। त्यो देखेर आत्तिँदै आफ्ना पति र खेतालाहरूलाई बाेलाइन् । त्यहाँ भएका सब‌ै छक्क परे । सबैले साक्षात देवी उत्पति भएको ठहर गर्दै मयङलुङ नामाकरण गरे । उक्त शिलालाई लगत्तै सुब्बा भगिमानले हालको नागदह पोखरी नजिकै एक विशाल चौतारो वनाई मेयङलुङ देवीको स्थापना गरे । यी दुवै कथाले मेयङलुङ देवीको उत्पत्ति हाल रहेको ठाउँमा नभएको देखिन्छ । कसरी अहिले रहेको ठाउँमा मेयङलुङ देवी स्थापना भयो त ? यसका बारेमा छुट्टै कथा रहेको छ ।
ग). कुनै समयमा म्याङलुङ आसपासका ठाउँहरूमा दिनदहाडै बाघले पाल्तु जनावरहरूलाई खाई विमाख गरिदिने र दिनरात जताततै कराइ हिड्ने गर्याे । सुब्बा भगिमानसिं र उनका दाजु सुब्बा जेठानसिं लगायत गाउँका बूढापाका मान्यजन सबैले यसरी बाघको चकचकी फैलिनुमा एउटा निचोड निकाले । बाघहरू भनेको शक्तिरुपी देवी भगवतीको प्रतीक हुन् । नागदह चौतारोमा स्थापित म्याङलुङमा देवीमा बटुवाहरूले दिसापिसाब तथा फोहरमैला गरेको कारण देवी रिसाएर बाघको चकचकी बढेको हो भन्ने ठहर गरे । अतः त्यसको ठीक भोलिपल्ट नै सुब्बा भगिमानसिंले सारा गाउँलेहरूलाई भेला गराएर नयाँ काठको डोलीमा अन्माई पञ्चै बाजा गाजाका साथ धुमधामसँग ल्याएर हाल रहेको ठाउँमा देवीको स्थापना गरे । स्थापनाकालमै त्यहाँ एउटा वरको बिरुवा आफै उम्रिन पुग्यो । जुन विशाल वरको रूख अहिले पनि छँदैछ । त्यहाँ पहिला ठूलो धारा पनि थियो जुन अहिले छैन । त्यहाँ पहिले चन्डी पूर्णीमा वा बुद्ध जयन्तीका दिन मेला लाग्थ्यो । सायद नागदहबाट यहाँ देवी सारेको दिन चन्डी पूर्णीमाको दिन थियो । तेतिवेला नुभो(लुम्भो) खोला र तमोर दोभानमा डुंगा लाग्ने गर्थ्यो । भरियाहरू धरान जोगमुनीबाट उत्तरमा किमाथाङ्का ओलाङचुङगोला तोक्पेगोलासम्मको यात्रा गर्न यही बाटो प्रयोग गर्थे । यहाँबाट आवतजावत गर्ने क्रममा भरियाको एउटा हूल यही म्याङलुङ देवी भएको वरमुनि वास बस्न आइ पुग्यो । भरियाहरूले खाना पकाइ खाने क्रममा एकजना भरियाले त्यहीँ शिलालाई चुलोको एउटा चुलढुंगा बनाई खाना पकाउन लागे । तर भात उम्लिनै नपाई ढुंगा जुरुक् जुरुक् हल्लिएर भातको भाँडो घोप्टिन पुग्यो । जति पटक उठाएर भात पकाए पनि भाँडो घोप्टिन छोडेन । अरु साथीभाइले पकाई खाइवरी बिस्तारामा ढल्किने बेला भइसकेको थियो । रिसको झोंकमा भरियाले खुकुरी फुत्त झिकेर त्यही ढुंगालाई काट्न पुगे । ढुंगाबाट अचानक रगत भलभली बग्न थाल्यो । यस्तो घट्नाले उक्त भरिया चकित एवं भयभीत भए । आफ्नो भारी बाेकेर बाटो लागे । केही पर पुगेपछि एउटा बिरलोले म्याउँ म्याउँ गर्दै पछ्यायो । केही छिनपछि हेर्दा हेर्दै बिरालो भयंकर सिंहको रूपमा परिणत भयो । उक्त सिंहले भरियालाई चिथोरेर मारी दियो । त्यतिले पनि रिस नमरेर पुनः एउटा ढुंगालाई समेत कोतार्याे । जुन ढुंगालाई अहिले बाघकोरे मन्दिरले पुकारिन्छ ।
विशेष पूजा गर्ने दिन :
मयङलुङ देवीथानमा विशेष गरेर चन्डी पूर्णीमाका दिन धुमधामका साथ पूजा हुन्छ । यहाँ विशेष गरेर जोडी परेवा चढाउने चलन छ । यसका साथै यहाँ दैनिक पूजा गर्नेहरूको घुइँचो लागिरहन्छ । यहाँ टाढा टाढाबाट पनि पूजा गर्न आउने गर्दछन् । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न जानेहरू यो बाटो भएर गएमा यहाँ दर्शन नगरी गएमा पूजा पूर्ण नहुने विश्वास समेत रहँदै आएको छ ।
सन्दर्भ सामग्री :
१. सात रेनुहाङतुम्वाहाङफे वंशावली र फेदाप लिम्वुवान
२. म्याङलुङ १ निवासी लिला बहादुर तुम्बाहाङफेसँगको कुराकानी
३. मुन्धुमसावा येहाङ लाओतीसँगको कुराकानी
४. मुन्धुम अध्येता तथा गीतकार यासेली योङहाङसँगको कुराकानी
तेह्रथुम फेदाप सिम्ले, यूरोपकाे पाेर्चुगल

(मेन्छ्यायेम एफएममा लामाे समय काम गरेका उनले तीनजुरे सामुदायिक अध्ययन केन्द्रले प्रकाशन गरेको पुस्तकका लागि केही वर्षअघि अध्ययन अनुसन्धान गरेका थिए । ज्ञान यात्राका लागि गीतकार एवम् याक्थुङ सँस्कृति अध्येता समेत रहेका सञ्चारकर्मी निङ्लेकूले  ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसारज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)